Sagun Khabar
कार्यसम्पादन मूल्यांकनमा बैतडी प्रशासन उत्कृष्ट १० मा 

बैतडी –कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बैतडी पहिलो पटक उत्कृष्ट १० मा पर्न सफल भएको छ । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय १० औं स्थानमा पर्न सफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

गृहमन्त्रालयले हरेक बर्ष जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्याकंन गर्दै आएको छ । गत आर्थिक बर्षमा कार्यालयले सम्पादन गरेका कामहरुको आधारमा कार्यालयहरुको स्तरीकरण गरिएको हो । ६८ ओटा परिसूचकका आधारमा कार्यालयको मूल्यांकन गरिएको सूचना अधिकारी भारतीले बताए । 

सार्वजनिक सेवा प्रवाह,शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माण र आर्थिक प्रशासन लगायतका क्षेत्रमा कार्यालयले सम्पादन गरेका कामहरुको मूल्यांकन हुने गरेको बताइएको छ । 

यस्तै  कार्यालयले फच्र्यौट गरेको मुद्दा, नागरिकता सम्बन्धि उजुरी व्यवस्थापन, अख्तियार दुरुपयोग अनुसन्धान र राष्ट्रिय सतर्कता केन्द्रसंग सम्बन्धित मुद्दाको सुनुवाई लगायतका कामहरुको आधारमा समेत मूल्यांकन हुने बताइएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीले गत आर्थिक बर्षमा पछिल्ला तीनबर्ष यताकै धेरै नागरिकता वितरण समेत गरेको छ । कार्यसम्पादनमा गुल्मी देशभरकै उत्कृष्ट जिल्लाको रुपमा रहेको छ भने बैतडीको छिमेकी जिल्ला डडेल्धुरा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update