Sagun Khabar
बैतडीबाट तीन लाख किलो जडीबुटी निकासी, झण्डै १३ लाख राजस्व संकलन 

बैतडी –बैतडीबाट गत आर्थिक बर्षमा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी निकासी भएको छ । गत आर्थिक बर्षमा विभिन्न सामुदायिक तथा निजी वनबाट सो परिमाणको जडीबुटी निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेद लगायतका जडीबुटी जिल्लाबाट निकासी भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । यस्तै गत आर्थिक बर्षमा जिल्लाबाट २ लाख २० हजार ६३० किलो खोटो निकासी भएको कँडेलले बताए । 

जडीबुटी, खोटो लगायतबाट गत आर्थिक बर्षमा १० लाख २१ हजार ६२० रुपैंया राजस्व संकलन भएको छ । यस्तै चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरे बाफत २ लाख ११ हजार ७९० रुपैया राजस्व जमा गरेको बताइएको छ । जिल्लामा जडीबुटी निकासी, सल्लोको खोटो निकासी, वनपैदावार निकासी र चमेलिया जलविद्युतबाट प्राप्त राजस्व गरी १२ लाख ७० हजार ९८६ रुपैंया राजस्व संकलन भएको कँडेलले बताए । 

जिल्लामा ३७२ ओटा सामुदायिक वन रहेका र ती वनहरुबाट सल्लाको खोटो संकलन र निकासी हुने गरेको छ । यस्तै जडीबुटीहरु समेत निकासी हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update