Sagun Khabar
बैतडीमा रमिता मृत्यु प्रकरण : हत्या गरिएको माइती पक्षको आरोप 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ४ की रमिता साउँदको बिष सेवनबाट मृत्यु भएपछि माइती पक्षले हत्या गरेको आरोप लगाएका छन् । २६ बर्षीया साउँदको उनका श्रीमान र सासु मिलेर हत्या गरेको मृतकका बुवा शंकर महराले आरोप लगाए । 

यही साउन १७ गते बिष सेवन गरेकी रमिताको १८ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । माइती पक्षले भने रमितालाई बिष खुवाएको आरोप लगाएको छ । आफूलाई छोरी बिरामी भएको बिषयमा केही जानकारी समेत नदिएको र आफूले अर्कै ठाउँबाट थाहा पाएको महराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

२०७४ सालमा भगाएर विवाह गरेका प्रकाश साउँदले बेलाबेलामा रमितालाई कुटपिट गर्ने गरेको महराले बताए । मृतकको ८ महिनाको छोरा समेत रहेको बताइएको छ । साउँद सुर्नया गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेका छन् । 

यो बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले माइती पक्षले हत्याको आशंका गरेपछि घरपरिवारलाई सोधपुछ गर्ने काम भइरहेको बताए । मृतक रमिताका श्रीमान प्रकाश साउँद र उनकी सासुलाई सोधपुछ गर्ने तयारी भएको उनले बताए । घटनाका बिषयमा अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update