बैतडी –बैतडीका नागरिकहरुको आर्युेवेदिक उपचारमा पहुँच बढ्दै गएको छ । जिल्लाका स्थानीयतहरुमा पनि नागरिक आरोग्य केन्द्र स्थापना हुन थालेपछि आयुर्वेदिक उपचारमा नागरिकहरुको पहुँच बढ्न थालेको हो । अहिले जिल्लाका ४ ओटा पालिकामा नागरिक आरोग्य सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय आयुर्वेदिक उपचार पद्दतिमा नागरिकहरुको आकर्षण पनि बढ्दै गएको जिल्ला आर्युेवेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले जानकारी दिए । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उनले बताए । उनले भने ‘आयुर्वेद औषधिले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो ।’
अहिले जिल्लाको पुर्चाैडी नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेका छन् ।
प्रदेश सरकार मातहत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुको आयुर्वेदिक उपचारमा पहुँच पुर्याउन नागरिक आरोग्य केन्द्रको स्थापना गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख चन्दले बताए । नागरिक आरोग्य केन्द्रबाट औषधोपचार, योग, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवाहरु प्रदान भइरहेका उनले बताए ।




