बैतडी –बैतडीमा आगामी निर्वाचनका लागि २ हजार ८ सय ८ जना मतदाता थपिएका छन् । गएको असार १ गतेदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा फोटो सहितको मतदाता नामावलीमा २ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १ हजार ५०९ पुरुष मतदाता र १ हजार २८९ महिला मतदाता थपिएका हुन् । यो संगै बैतडीमा मतदाताको संख्या १ लाख ५१ हजार ४१४ पुगेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा ७३ हजार ८८३ पुरुष, ७४ हजार ७२१ महिला र २ जना तेश्रो लिंगी मतदाता गरेर १ लाख ४८ हजार ६०६ जना मतदाता रहेका थिए । सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।




