बैतडी –बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडा नमूना विद्यालय बन्दै गएको छ । विभिन्न खालका नयाँ कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालय नमूना विद्यालय बन्दै गएको छ ।
विद्यालयको शैक्षिक र भौतिक विकास गरी विद्यालयले जिल्लाकै नमूना मावि बनाउने योजना रहेको विद्यालयका प्रधानाध्यापक शिवराज भट्टले बताए । कोरोना महामारीका बेला समेत टोल शिक्षण गरेर शिक्षण सिकाइ प्रक्रियालाई अघि बढाएको मावि अहिले बर्षातको समयमा पनि पठनपाठनलाई निरन्तरता दिएको छ । बर्खे बिदा नदिएर विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन गरिएको उनले बताए ।
कोभिड १९ महामारिका कारण विद्यालयको शैक्षिक सत्र पर धकेलिएको र बार्षिक पढाई हुने दिन नपुग्ने भएकाले बालबालिकाको पठनपाठनलाई मध्यनजर गर्दै बर्षे बिदा नगरिएको विद्यालयका प्रधानाध्यापक भट्टले बताए ।
२०१८ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्मको पढाई भईरहेको छ । विद्यालयले बालबालिकाहरुलाई सीपयुक्त तालिम समेत दिँदै आएको छ । बालबालिकाहरुलाई जिवनोपयोगी सीप सिकाउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।
यही साउन २२ गतेदेखि बालबालिकाहरुलाई चुरा पोतेमाला बनाउने तालिम सञ्चालन गर्ने विद्यालयले तयारी गरेको छ । विद्यालयको पाठ्यक्रममा पढाई हुने विभिन्न व्यवसायिक र रोजगारीमूलक शिक्षालाई प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई सिकाउर्दै आईरहेको यस विद्यालयले तिहारलाई लक्षित गर्दै मैनबत्ती उत्पादन गर्ने, मकैको खोष्टाबाट चकटि निर्माण गर्ने, विद्यालयमै च्याउँ खेती तरकारी तथा फलफूल खेती गर्दै आएको छ ।




