बैतडी –बैतडीमा जिप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेका छन् । कच्ची सडकमा मात्रै नभएर पक्की सडकमा समेत जिप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको पाइएको छ । जिल्लाको गोठलापानी –झुलाघाट सडकखण्ड १९ किलोमिटरमा जिप व्यवसायीहरुले २ सय ५० रुपैंया भाडा असुल्ने गरेका छन् ।
सीमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य सामग्री किन्नका लागि धेरैजसो नागरिक गोठलापानी हुँदै झुलाघाट जाने गरेका छन् । तर मनपरी भाडाका कारण निकै समस्या हुने गरेको उनीहरुको गुनासो छ । मनपरी भाडा नियन्त्रणमा सरोकारवाला निकायहरुले समेत ध्यान दिन सकेका छैनन् ।
सीमावर्ती बजारबाट सामान ल्याउँदा पनि चर्को भाडा लिने गरेको दशरथ चन्द नगरपालिका–४ की अञ्जली रानाले गुनासो गरिन् । जिपवालाले जति पैसा भन्यो त्यति दिनुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
झुलाघाटबाट फर्किंदा बुड्डा, तिरखडेनी, अदरपिण्ड, बाराकोट, त्रिपुरालगायत ४÷५ किलोमिटरको दूरीमा रहेका यी ठाउँसम्म यात्रा गर्दा पनि पूरा भाडा असुल्ने गरिएको स्थानीयहरुको गुनासो रही आएको छ ।
यस्तै जिल्लाको पाटन–मेलौली सडकखण्डमा पनि मनपरी भाडा असुल्ने गरिएको छ । पाटनदेखि मेलौली सम्म ३४ किलोमिटर पक्की सडक छ । तर मेलौली सम्म जिप व्यवसायीले ५ सयका दरले भाडा असुल्ने गरेका छन् । पहिला बार्गेनिङ मात्रै यात्रुहरुलाई बोक्ने गरिएको सञ्चारकर्मी लक्ष्मण बिसीले बताए । उनले भने ‘कम्तीमा ५ सय भाडा लिने गरेका छन् । त्यो भन्दा बढी असुल्न सके त्यो पनि गर्ने गरेका छन् ।’
यस्तै मेलौलीदेखि पञ्चेश्वर सम्मको २६ किलोमिटर सडकमा पनि मनपरी भाडा असुल गर्ने गरिएको छ । मेलौलीदेखि पञ्चेश्वरको ५ सय भाडा लिने गरिएको छ । यसरी पाटनदेखि पञ्चेश्वर सम्मको भाडा तराई पुग्ने भाडा भन्दा बढी असुल गर्ने गरिएको छ । धनगढी–बैतडी भाडा साढे ८ सय सम्म छ तर पाटनदेखि पञ्चेश्वरको भाडा एक हजार तिर्नुपरीरहेको छ ।
यस्तै ढोल्यामोडदेखि हाट सम्म १९ किलोमिटरमा ५ सय भाडा छ भने सतबाँझदेखि सुर्नयाको भाडा पनि ५ सय भाडा असुल्ने गरिएको छ ।
यस्तै, ३२ किलोमिटर लामो दशरथचन्द नगरपालिकाको देहिमाण्डौ–गिरेगडा सडकको भाडा ५ सय रुपैयाँ छ । इन्धनको मूल्य बढेको भन्दै सवारीधनीहरूले मनोमानी भाडा लिने गरेका दशरथ चन्द–९ की तारा जोशीले बताइन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने महंगो भाडाका बिषयमा गुनासो नआएको बताए । जिल्लामा भाडादर भन्दा बढी असुल गरेको पाइएमा कानुन अनुसार कारवाही हुने उनले बताए । उनले भने ‘भाडाका बिषयमा सम्बन्धित निकायसंग समन्वय गरेर व्यवस्थित बनाउने प्रयास गर्छौं । यातायात व्यवसायीका प्रतिनिधि सहितको बैठक बसेर छलफल गर्छौं ।’




