बैतडी –भारतबाट फर्कने अधिकांश नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । भारतसंग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका सक्रिय संक्रमित शून्य रहेको बैतडीमा अहिले २६ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमण बढ्दै गएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । संक्रमण पुष्टि भएकाहरु समेत सिधै घर जाने भएकाले समुदायस्तरमा कोरोनाको जोखिम बढ्दै गएको उनले बताए ।
बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च रहेको छ । स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरुको पनि कोरोना परीक्षण गर्ने गरिएको र पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको सूचना अधिकारी लेखकले बताए । अहिले सम्म चार जान भारतीय नागरिकमा कोरोना पुष्टि भएकाले उनीहरुलाई नाकाबाटै फिर्ता गरेको लेखकले बताए ।




