Sagun Khabar
महाकालीमा पुल नहुँदा डुंगाबाटै जोखिमपूर्ण यात्रा 
फाइल फोटो

बैतडी –महाकाली नदीमा झोलुंगे पुल नहुँदा बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक र सीमावर्ती भारतीय नागरिक डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विभिन्न धार्मिक कार्य र अन्य व्यक्तिगत कामका लागि दुवै देशका नागरिक एकअर्को देशमा आवतजावत गर्ने भएकाले डुंगाकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । 

बर्षौंदेखि सीमावर्ती भारतीय क्षेत्रमा पारिवारिक र धार्मिक सम्बन्ध रहेकाले नागरिकहरु महाकाली नदीमा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्ने गरेका उनले बताए । उनले भने ‘महाकाली नदीमा पुल नहुँदा डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको छ । यसले गर्दा बेलाबेलामा अप्रिय घटना समेत हुने गरेका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

साउनको उर्लदो महाकालीमा जोखिमपूर्ण यात्रा गरेर भारतीय दर्शनार्थीहरु बैतडीमा रहेको देवताल बाबाको दर्शनका लागि पुग्ने गरेका छन् । झुलाघाट बाहेक अन्य क्षेत्रमा झोलुंगे पुल नहुँदा सीमा क्षेत्रका नागरिकलाई समस्या हुने गरेको छ । अधिकांश भारतीयहरु धार्मिक स्थलहरुको दर्शनका लागि सीमावर्ती नेपालका गाउँ पुग्ने गरेका भएपनि महाकाली नदीमा पुल नहुँदा समस्या भएको छ । 

महाकाली नदीमा झोलुंगे पुल निर्माणका लागि दुवै देशका नागरिकले बेलाबेला आग्रह गरेको भएपनि अहिले सम्म पुल बन्ने कुनै सुरसार भएको छैन् । खास गरेर भारतले पुल निर्माणका लागि सहमति नदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । महाकाली सीमा नदी भएकाले पुल निर्माणका लागि दुवै देशको सहमति आवश्यक हुन्छ । उनले भने ‘महाकालीमा पुल निर्माणका लागि एक पटक नेपालका तर्फबाट ठेक्का पनि भएको हो । तर भारतले सहमति नदिँदा पछि त्यो काम रोकियो ।’

तल्लोसोराड क्षेत्रमा झण्डै आधा दर्जन घाटबाट महाकाली नदी तर्ने गरिएको छ । डुंगाको माध्यमबाट आवतजावत गर्नु निकै जोखिमपूर्ण रहेको स्थानीयहरुले बताएका छन् । जोखिम हुँदाहुँदै पनि काम परेको बेला आवतजावत गर्नुपर्ने बाध्यता रही आएको स्थानीय जीवन साउँदले जानकारी दिए । उनले भने ‘महाकालीमा पुल नहुँदा दुवै देशका नागरिकलाई समस्या भएको छ । यो समस्याका बिषयमा दुवै देशका सरकार जिम्मेवार हुनुपर्दछ ।’
 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update