Sagun Khabar
बैतडीको पाटनमा विद्यालय मर्ज गर्ने निर्णय कार्यान्वयन होला त ? 

बैतडी –बैतडीको पाटन नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गर्ने निर्णय गरेको छ । यही साउन ९ गते बसेको कार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरेर व्यवस्थित गर्ने निर्णय समेत गरेको छ । 

पहिलो चरणमा वडातहबाट सुझाव संकलन गर्न भनिएको र त्यसपछि अन्य कार्य अघि बढाउने सहमति भएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि मर्ज गर्न खोजिएको भएपनि निर्णय कार्यान्वयनमा भने चुनौती देखिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कक्षा १ देखि ३ सम्मका विद्यालयहरुमा कम्तीमा ३० जना, कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा कम्तीमा ६५ जना, कक्षा १ देखि ८ सम्मको विद्यालयमा कम्तीमा ११०, कक्षा १ देखि १० सम्म पढाई हुने विद्यालयमा कम्तीमा १७० जना र कक्षा १ देखि १२ सम्म पढाई हुने विद्यालयमा कम्तीमा ११० जना विद्यार्थी हुनुपर्ने मापदण्ड तोकिएको छ । 

मापदण्डमा तोकिए अनुसार विद्यार्थी संख्या नभएका विद्यालयहरुलाई मर्ज गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ । तर विद्यालय मर्ज गर्ने बिषयमा कार्यपालिका सदस्यहरु नै विभाजित भएका छन् । कार्यपालिकामा निर्णय गरेपनि उनीहरु समुदायमा गएर निर्णय नगरेको बताउँदै आएका छन् । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न मर्ज नीति आवश्यक भएकाले त्यसको  कार्यान्वयनका लागि पहल भइरहेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । भौगोलिक दुरी नजिक भएका विद्यालयहरु मर्ज गर्ने र टाढा भएमा तह घटाउने उनले बताए । 

पाटन नगरपालिकाभित्र ६३ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती मध्ये केही विद्यालयहरुमा विद्यार्थी संख्या कम रहेको बताइएको छ । विद्यार्थी संख्या कम भएका विद्यालयहरु मर्ज गर्ने अथवा तह घटाउने गरेर गृहकार्य भइरहेको उपप्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update