Sagun Khabar
बैतडीमा किशोरकिशोरी सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु 

बैतडी –बैतडीमा किशोरकिशोरी सहजकर्ताहरुका लागि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भीएसओ र पीसवीन नेपालको संयुक्त सहकार्यमा तालिम शुरु भएको हो । 

बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम अन्तर्गत किशोरकिशोरी सहजकर्ताहरुका लागि सामाजिक तथा बित्तीय सीप सम्बन्धि तालिम सञ्चालन भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । 

गाउँगाउँमा सञ्चालन भइरहेको बालविवाह न्यूनीकरण कार्यक्रमलाई सहयोग पुर्याउन सहजकर्ताहरुलाई तालिम दिन थालिएको उनले बताए । 

तालिममा बैतडीका ५ पालिकाका २७ जना किशोरकिशोरी सहजकर्ताहरुको सहभागिता रहेको पीसवीनका कार्यक्रम तथा व्यवस्थापन प्रशासन सहायक दिनेशप्रसाद जोशीले बताए । 

तालिमको उद्दघाटन सत्रमा बोल्दै पाटन नगरपालिका उपप्रमुख कमलसिंह बोहराले बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको र पालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने बताए । उनले भने ‘बालविवाह एक सामाजिक समस्याको रुपमा रहेको छ । यसको अन्त्यका लागि किशोरकिशोरीहरुले पहल गरिरहेका छन् । यो पहलमा पालिकाका तर्फबाट हुन सक्ने सहयोग हामी गर्छौं ।’
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update