Sagun Khabar
बैतडीमा कोरोना कोष सञ्चालन कार्यविधि बनाइँदै 

बैतडी –बैतडीमा कोरोना कोष स्थापना गर्ने निर्णय भएपछि त्यसलाई सञ्चालन गर्नका लागि कार्यविधि बनाउन थालिएको छ । केही दिन पहिला बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष बनाउने निर्णय गरेको थियो । 

सो कोषमा प्रत्येक पालिकाबाट ५० हजारका दरले रकम जमा गरेर ५ लाख बराबरको आकस्मिक कोरोना कोष स्थापना गर्ने निर्णय भएको थियो । सो कोषलाई व्यवस्थित रुपमा सञ्चालनका लागि कार्यविधि बनाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘हामीले कोषलाई कसरी सञ्चालन गर्ने भनेर कार्यविधि बनाइरहेका छौं । केही दिनभित्रै कार्यविधि बनिसक्छ ।’

स्वास्थ्य कार्यालयले सञ्चालन र व्यवस्थापन गर्ने गरी कोष स्थापनाको निर्णय भएको थियो । कोरोना संक्रमितहरुलाई सम्बन्धित स्थानीय तहमा पुर्याउन, आइसोलेसनमा व्यवस्थापन गर्न लगायतका काममा सहयोग पुर्याउन कोष स्थापना गर्ने निर्णय भएको हो । 

कोषमा स्थानीय तहहरुलाई रकम जमा गर्ने भनिएकाले कोष सञ्चालनका लागि स्थानीय सरकारकै भरपर्नु पर्ने बाध्यता रही आएको छ । यो भन्दा पहिला पनि कोरोना कोष स्थापना गर्ने भने पनि कार्यान्वयनमा आउन सकेको थियो । 

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला अस्पतालमा १० शैय्याको आइसोलेसन कक्ष तयार पारिएको छ भने अस्पतालभित्रै आइसियु सहितको ४ बेडको आइसोलेसन कक्ष बनाइएको छ । 

जिल्ला अस्पतालभित्र दशरथचन्द नगरपालिकाको सहयोगमा १० बेडको आइसोलेसन कक्ष तयार पारिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update