Sagun Khabar
अन्तरर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीमा खुला अन्तर –सम्वाद 

बैतडी –अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीमा खुला अन्तर–सम्वाद सम्पन्न भएको छ । पाटन नगरपालिकाको समन्वयमा संयुक्त राष्ट्रसंघीय जनसंख्या (युएनएफपीए), फाया नेपाल धनगढी कैलाली, अक्सफाम, युवालय, वाम, नेपाल परिवार नियोजन संघ, पीसवीन लगायतका संस्थाहरुको सहाकार्यमा अन्तर –सम्वाद सम्पन्न भएको हो । 

अन्तरराष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा बिहीबार पाटनमा आयोजना गरिएको अन्तर सम्वादमा युवा युवतीहरुले विभिन्न प्रश्न तथा जिज्ञासहरु राखेका थिए । सहभागीहरुले राखेको प्रश्नको जवाफ दिँदै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले नगरपालिकाले युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताए । खेलकुदका क्षेत्रलाई प्राथमिकता दिँदै त्यसमा युवाहरुको प्रतिनिधित्वका लागि पालिकाले पहल गर्ने उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले अहिले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाहरु प्रमाणीकरण गरेर सेवा दिइरहेको बताए । युवाहरुमा विभिन्न खालका मानसिक समस्या समेत देखिने गरेकाले मानसिक स्वास्थ्यका कार्यक्रम समेत सञ्चालन भइरहेका उनले बताए । 

यस्तै स्वरोजगारमूलक शिक्षाको अवधारणालाई सरकारले अंगिकार गरेको बताउँदै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले युवाहरुलाई विभिन्न खालका कुलतबाट जोगाउन अभिभावकीय शिक्षामा जोड दिनुपर्ने बताए । 

अन्तर–सम्वादमा किशोरकिशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा समेत प्रश्न गरेका थिए । यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा अझै पनि आवश्यक ज्ञान नहुँदा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराध भइरेहकाले यसको अन्त्यका लागि युवाहरुले लाग्नुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिए । 

अन्तर सम्वादमा बोल्दै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले युवाहरुका सवाललाई सम्बोधन गर्नका लागि हरेक बर्ष अगस्ट १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीका प्रबन्धक उद्धवदेव भट्टले नेपाल परिवार नियोजन संघले विभिन्न खालका कार्यक्रम सञ्चालन गरिरहेको बताए । 

युवालय बैतडीका संयोजक कमला बिष्टले युवाशक्ति देशको दक्ष जनशक्ति भएकाले यो शक्तिको सही सदुपयोग गर्ने तर्फ ध्यान दिनुपर्ने बताइन् । स्थानीय सरकारहरुका हरेक कार्यक्रममा युवाको सहभागिता भएमा युवाहरुको क्षमता विकास हुनेमा उनले जोड दिइन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update