बैतडी- बैतडीका किसानहरुलाई मकैबाली जोगाउन धौधौ परेको छ । किसानहरुलाई रातीका बंदेल र दिउँसोका बाँदरहरुबाट मकैबाली जेगाउन अहिले धौधौ परेको हो ।
बाँदर र बदेलले भित्राउन तयार भइरहेको मकैबाली खान थालेपछि समस्या भएको सुर्नया ३ तडीगाउँका स्थानीय विष्णु दत्त भट्टले बताए । राती जंगली बंदेल र दिउँसो बाँदर आएर मकैबाली सखाप पार्न थालेपछि किसानहरु समस्यामा परेका उनले बताए ।
जंगली बंदेल र बाँदरहरुले मकैबाली सखाप पारेपछि किसान निकै चिन्तीत बनेका छन् । मिहेनत गरेर लगाएको मकैबाली जंगलि जनावरले सखाप पारेपछि भोकमरिको चिन्ता हुन थालेको अर्का किसान दामोदर भट्टले बताए ।
पहरा नबसेको समयमा जंगली बंदेल र बाँदरले आएर मकै खाने गरेको स्थनीय धौल सिंह धामीको गुनासो छ । सुर्नयामा मात्रै नभइ जिल्लाको पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा पनि जंगली जनावरले मकैबाली सखाप पारेको बताइएको छ ।
प्रत्येक वर्ष जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको भएपनि सरकारले क्षतिपूर्ती नदिने गरेको किसानहरुको गुनासो छ । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा यसरी जंगलि जनावरको आतंक बढेपछि किसानहरु अहिले हैरान बनेका छन् । कतै बाँदर, कतै बंदेल र कहिँ दुम्सीका कारण किसानहरु परिसान भएका छन् ।
कृषि ज्ञानकेन्द्रका अनुसार बैतडीको १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिन्छ ।




