बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा सिलाई मेसिन र आरन मेसिन वितरण गरिएको छ । गत आर्थिक बर्षमा गाउँपालिकाको स्वीकृत बजेटबाट सिलाई मेसिन र आरन मेसिन खरीद गरेर लाभग्राहीहरुलाई वितरण गरिएको गाउँकार्यपालिकाका निवर्तमान सदस्य मोहनलाल लुहारले बताए ।
दलित लक्षित बजेटबाट ८ लाखको लागतमा २४ सिलाई मेसिन र २४ ओटा आरन मेसिन खरीद गरेर वितरण गरिएको लुहारले बताए । प्रत्येक वडामा तीनजनालाई सिलाई मेसिन र ३ जनालाई आरन मेसिन वितरण गरिएको नयाँ पाइला मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयराम लुहार बताए । उनले भने ‘सिलाई तथा आरन पेशामा लागेका नागरिकहरुलाइ पालिकाबाट आएको कार्यक्रमले धेरै सहयोग पुगेको छ । यसले आफ्नो सीपलाई व्यवसायीकरण गर्नका लागि सहयोग पुग्ने आसा गरिएको छ ।’
गाउँपालिकाबाट सिलाई मेसिन प्राप्त भएपछि आफूलाई आफ्नो सिलाई व्यवसाय अगाडि बढाउन सहज हुने सुर्नया गाउँपालिका १ का रमेश टेलरले बताए । उनले भने ‘सिलाई मेसिन प्राप्त भएपछि काममा केही सहज हुनेछ ।’
यस्तै आरन व्यवसायलाई व्यवसायीकरण गर्नका लागि आरन मेसिनले सहयोग पुग्ने सुर्नया ८ का हरिश लुहारले बताए । मेसिन पाएपछि आरन व्यवसायलाई व्यवसायीकरण गर्न सहयोग पुग्ने उनले बताए ।




