बैतडी –बैतडीमा अवैध रुपमा पेट्रोल तथा डिजेल विक्रि हुँदै आएको छ । पेट्रोल पम्प बाहेक पसलहरुमा ड्रम तथा बोतलहरुमा राखेर पेट्रोल र डिजेल विक्रि हुँदै आएको स्थानीयहरुले बताएका छन् ।
धनगढी तथा डडेल्धुराबाट ड्रममा डिजेल तथा पेट्रोल ल्याएर खुला रुपमा बढी मूल्यमा विक्रि गर्ने गरिएको स्थानीयहरुले बताएका छन् । पेट्रोलियम पदार्थको खुला रुपमा विक्रि वितरण भइरहेको भएपनि नियमन गर्ने निकायले ध्यान नदिएको गुनासो बढ्दै गएको छ । जिल्लामा एक सय बढी व्यापारीले यसरी नियम विपरीत अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आइरहेका छन् ।
बैतडीको सतबाँझमा एक मात्रै भण्डारी आयल स्टोर रहे पनि व्यापारीहरूले अवैध रूपमा डिजेल र पेट्रोलको पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठालापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको स्थानीयले बताएका छन् ।
पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ विक्रि वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा विक्रि गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन् । पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रही आएको स्थानीय प्रकाश बिष्टले बताए ।
डिजेल समेत पेट्रोल पम्पले भने अनुसार उपलब्ध नगराउँदा बाहिरबाट किन्नुपर्ने र व्यापारीहरुले भने अनुसारको पैसा दिनुपर्ने बाध्यता रही आएको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए । यसले गर्दा निर्माणका कामहरुमा समेत बाधा पुगेको छ ।
भण्डारी आयल स्टोरले लामो समयदेखि डिजेल मात्रै विक्रि गर्दै आएको छ । पेट्रोल पम्पमा पेट्रोल नपाएको बिषयमा स्थानीय प्रशासन सम्म पनि कुरा पुगेको छ । प्रशासनले बेलाबेला यो समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिले सम्म समस्या समाधान भएको छैन् ।




