Sagun Khabar
बैतडीमा बजार अनुगमन, ८ जना व्यापारी कारवाहीमा 
तस्बिर : बैतडीको दोगडाकेदारमा बजार अनुगमन गर्दै संयुक्त बजार अनुगमन टोली

बैतडी –बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको छ । चालु आर्थिक बर्षमा पहिलो पटक गरिएको बजार अनुगमनमा ८ जना व्यापारी कारवाहीमा परेका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । शनिबार जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र खोचलेक बजारमा अनुगमन गरिएको हो । 

संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता हित विपरीत म्याद गुज्रेका सामग्री विक्रि वितरण गर्ने, मूल्यसूची नराख्ने र लेबल नभएका सामग्री विक्रि वितरण गर्ने ८ जनालाई जरीवाना गरेको छ । एकजनालाई २० हजार, २ जनालाई १०÷१० हजार र ५ जनालाई ५÷५ हजारका दरले जरीवाना तोकिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । उनीहरुलाई ७ दिनभित्र जरीवाना बुझाउन निर्देशन दिइएको उनले बताए । 

यस्तै बजार अनुगमनका क्रममा २३ हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । २२ ओटा पसलमा अनुगमन गर्दा बरामद गरिएको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको हो । 

बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री विक्रि वितरण नगर्न निर्देशन दिइएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ । 

यस्तै उपभोक्ता र व्यापारी दुवैलाई उपभोग्य सामग्रीको उत्पादन र उपभोग मिति हेरेर मात्रै खरीद विक्रि गर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा दोगडाकेदार गाउँपालिकाका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना कार्यालय, स्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

बजार अनुगमन कार्यलाई निरन्तरता दिइने संयुक्त बजार अनुगमन समितिले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update