Sagun Khabar
महाकालीमा बगेर बेपत्ता भएका किशोरी अझै फेला परेनन्, बर्षाले खोजी कार्यमा समस्या 

बैतडी –गएको शुक्रबार महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै फेला परेका छैनन् । जिल्लाको दशरथचन्द नगरपालिका ८ साङडीका संगिता टमाटा र कलावती टमाटा नुहाउने क्रममा मौरा भन्ने स्थानबाट बगेर बेपत्ता भएका थिए । 

शुक्रबार दिउँसो नदीमा बगेका उनीहरुको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म पत्ता लाग्न नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खोजी कार्य जारी राखेका छन् । 

लगातारको बर्षाका कारण महाकाली नदीमा बहाव बढेकाले खोजी कार्यमा समस्या भएको भारतीले बताए । महाकालीमा बहाव बढेपछि नदी किनारमा आवतजावतमै समस्या रहेको उनले बताए । उनले भने ‘हामीले बेपत्ता किशोरीहरुको खोजी कार्य जारी राखेका छौं । बर्षाले नदीमा बहाव बढेपछि खोजी कार्यमा समस्या भएको छ । नदी किनारमा बाटो समेत नहुँदा आवतजावतमा निकै समस्या रहेको छ ।’

महाकाली नदीमा बगेर बेपत्ता भएका चार दिन सम्म पनि किशोरीहरु फेला नपरेपछि आफन्तहरु निराश भएका छन् । कक्षा १० मा पढ्ने दुई जना किशोरीहरु महाकालीमा बगेर बेपत्ता भएपछि अहिले गाउँ नै शोकमग्न भएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update