बैतडी- बैतडीमा उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीमा अहिले सम्म साढे तीन हजार बढी उद्योगहरु दर्ता भइसकेका छन् ।
हाल सम्म जिल्लामा लघु,घरेलु र साना गरि३ हजार ५ सय ९० उद्योगहरु दर्ता भइसकेका घरेलु तथा साना उद्योग बैतडीको कार्यालयका सूचनाअधिकारी लक्ष्मण साउँदले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ७ सय ५४ उद्योगहरु दर्ताभएका छन् ।
यस्तै २०७७÷७८ मा १ सय ३१लघु ४सय१८ घरेलु, ४५साना उद्योग दर्ता भएका उनले बताए । केहि वर्ष अघि र अहिलेको तथ्याँक हेर्दा जिल्लामा उद्योगहरु दर्ता गर्ने संख्या दोब्बरले बढेको घरेलु तथा साना उद्योग कार्यालय बैतडीले जनाएको छ । जिल्लामा उद्योगको संख्यात्मक स्वरुप बढ्दै गएपनि उत्पादन र रोजगारीको क्षेत्र भने फराकिलो नबनेको पाइएको छ ।
उद्योगहरुको संख्या बढेको भएपनि उद्यमीहरु नबढेका घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए । सरकारी सेवा सुविधा र अनुदानका लागि उद्योगहरु दर्ता भएका उनले बताए। जिल्लामा उद्योगहरु दर्ता प्रकृया धमाधम भइरहे पनि अनुगमन भने हुन सकेको छैन् ।
घरेलु तथा साना उद्योग कार्यालयले भने अहिले सम्म अनुगमन गर्न नसकिएको स्वीकार गरेको छ । दर्ता भएका कतिपय उद्योगहरुमा सरकारी पक्षबाट अनुदान समेत प्राप्त भइसकेको छ तर काम भने नभएको पाइएको छ । सरकारी अनुदान पचाउनकै लागि जिल्लामा उद्योगहरु बढेका कतिपयको भनाई छ ।




