Sagun Khabar
बैतडीमा आधाभन्दा बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण 

बैतडी –स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका बैतडीका आधाभन्दा बढी उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको तीस दिनभित्र उम्मेदवारहरुले खर्च विवरण बुझाउनुपर्ने भएपनि आधाभन्दा बढी उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । 

बैतडीमा गएको स्थानीय तहको निर्वाचनमा १ हजार ४७६ जना उम्मेदवार बनेकोमा २ सय ८४ जनाको धरौटी जफत भएको थियो । १ हजार १ सय ९२ जना उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेमा ५ सय २८ जनाले मात्रै खर्च विवरण बुझाएका फुँयालले बताए । 

निर्वाचन खर्च नबुझाएका उम्मेदवारलाई कस्तो कारवाही हुने भन्ने बारेमा निर्वाचन आयोगले निर्णय गर्ने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । खर्च विवरण नबुझाएकाहरुलाई अहिले सम्म खासै कारवाही नभएकाले खर्च विवरण बुझाउन आनाकानी गरिएको हुन सक्ने बताइएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर निर्वाचन खर्च नबुझाएकाहरुलाई अहिले सम्म खासै कारवाही भएको छैन् ।  

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update