बैतडी –बैतडीका आधा दर्जन बढी कच्ची सडकमा सवारी साधन सञ्चालनमा समस्या आएको छ । लगातारको बर्षाले सडकहरु हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा समस्या आएको यातायात व्यवसायीहरुले बताएका छन् ।
बर्षाका कारण जिल्लाको सतबाँझ–सुर्नया, ढोल्यामोड–हाट, देहीमाण्डौं–गिरेगडा, दुदिलाखान –गाँजरी, अनारखोली–कैलपाल, मेलौली –पञ्चेश्वर लगायतका सडकमा सवारी साधन सञ्चालनमा समस्या आएको हो । लगातारका बर्षाले सडकहरुमा गाडी चलाउन निकै मुस्किल भएको चालक सुरेश चन्दले बताए । उनले भने ‘सडक हिलाम्य हुँदा गाडी चलाउन निकै मुस्किल भएको छ । ठाउँठाउँमा चिप्लो बाटोका कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।’
बर्षाका कारण सडक हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या आएको पुर्चौंडीका स्थानीय पुरनसिंह ऐरले बताए । ढोल्यामोडदेखि हाट सम्मको सडकका ठाउँठाउँमा जोखिम रहेको उनले बताए । सो सडक स्तरोन्नती गर्ने कार्य भइरहेको भएपनि सडक स्तरोन्नती कार्यमा ढिलाइ भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । समयमा सडक स्तरोन्नती नहुँदा सवारी आवागमनमा समस्या भएको चालकहरुले बताएका छन् ।
हिलाम्य सडकमा यात्रा गर्न निकै कष्टकर हुने गरेको शिक्षक धिरेन्द्र मडैले बताए । कच्ची बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको उनले बताए ।
सतबाँझ–श्रीभाव–हाट सडकलाई प्रदेश गौरवको योजनामा राखेको भएपनि समयमा सडक स्तरोन्नती नहुँदा समस्या भएको चालकहरुले बताएका छन् ।
कच्ची सडकमा मनोमानी भाडा
बर्षाका कारण कच्ची सडकहरुमा यातायातका साधन सञ्चालनमा समस्या आएकाले व्यवसायीहरुले मनोमानी भाडा असुल गर्ने गरेका छन् । जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नुपरेको भन्दै उनीहरुले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।
जिल्लाका अधिकांश कच्ची सडकमा यातायात व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरेको यात्रुहरुले बताएका छन् । कच्ची सडकहरुमा मनोमानी भाडा लिने गरेको भएपनि नियमन गर्ने निकायको ध्यान नपुगेको दशरथचन्द नगरपालिका ९ का लक्ष्मी जोशीले बताए । उनले भने ‘कच्ची सडकमा मनोमानी भाडा लिने गरेको भएपनि त्यसलाई नियमन गर्न कसलै चासो दिएका छैनन् ।’
जिल्ला सदरमुकामबाट पञ्चेश्वर पुग्न यात्रुहरुले कम्तीमा एकहजार भाडा तिर्नुपरीरहेको छ । केही पक्की र अधिकांश ठाउँमा कच्ची सडक भएकाले व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरेको स्थानीय जयबहादुर चन्दले बताए । उनले भने ‘तराइ पुग्ने भाडा भन्दा बढी सदरमुकाम पुग्न लाग्छ । कच्ची सडकमा व्यवसायीहरुले भने जत्तिकै भाडा दिनुपर्ने बाध्यता रही आएको छ ।’




