Sagun Khabar
बैतडीमा ३८ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिने तयारी 

बैतडी –बैतडीमा भदौ ५ गतेदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप दिने तयारी भएको छ । ५ बर्षदेखि ११ बर्ष सम्मका ३८ हजार बालबालिकाहरुलाई खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बालबालिका लक्षित खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको उनले बताए । जिल्लाभरी ३८ हजार ५ जना बालबालिकाहरुलाई खोप दिने तयारी भएको छ । यसका लागि ५ सय ६८ खोप कार्यकर्ता र १ हजार १सय ३६ स्वयंसेवक परिचालन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । 

अधिकांश बालबालिकाहरुलाई विद्यालय हुने भएकाले विद्यालयहरुमा नै खोप केन्द्र सञ्चालन गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए । जिल्लाभरी ५ सय ६२ खोप केन्द्र मार्फत बालबालिकाहरुलाई कोरोना विरुद्ध खोप दिइने छ । 

जिल्लाका १० ओटा स्थानीय तह मध्ये दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा भदौ ५ देखि ९ गते सम्म खोप अभियान सञ्चालन हुनेछ भने अन्य पालिकाहरुमा भदौ ५ गतेदेखि ८ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । 

जिल्ला अहिले सम्म १२ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्ध खोप दिइएको थियो भने पहिलो पटक ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने तयारी भएको हो । 

बैतडीमा १२ बर्षमाथिका १ लाख ८० हजार जनाले कोरोना विरुद्ध पूर्ण खोप पाइसकेका छन् । भदौ ५ गतेदेखि शुरु हुने खोप अभियानमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ६ हजार २ सय ७९ बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको छ । यस्तै दशरथचन्द नगरपालिकामा ४ हजार १४३, पाटन नगरपालिकामा ४ हजार १४१, मेलौली नगरपालिकामा ३ हजार १४ र दोगडाकेदार गाउँपालिकामा ४ हजार २८५ जना बालबालिकाहरुलाई खोप दिइने छ । 

यस्तै सिगास गाउँपालिकामा ३ हजार ९०६, डिलाशैनी गाउँपालिकामा ३ हजार ६३९, शिवनाथ गाउँपालिकामा ३ हजार २२०, सुर्नया गाउँपालिकामा २ हजार ९०७ र पञ्चेश्वर गाउँपालिकामा २ हजार ४७२ जना बालबालिकाहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update