बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका क्यान्सर पिडीत भट्टको उपचारमा समस्या भएको छ । गाउँपालिकाको वडा नं ७ चडेपानी मल्ला कोडा गैरा बस्ने नन्दराज भट्टको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
शुरुमा बायाँ खुट्टाको घुँडामुनी पलाएको मासु हटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा अप्रेसन गरिएको थियो । अप्रेसन गरेको ३ महिना सम्म ठिक भएपनि फेरी मासु पलाएको बताइन्छ । फेरी मासु पलाएपछि धनगढीका डाक्टरहरुले क्यान्सर भएको पुष्टी गरेर उनलाई बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल चितवन पठाएको थियो ।
बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल चितवनमा उनको अप्रेसन भएपछि पनि निको भएन । निको नभएपछि बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालले थप उपचारका लागि भारत जानु पर्ने भने पनि आर्थिक अभावकै कारण जान नसकिएको क्यान्सर पिडीतका आफन्त प्रकाश भट्टले बताए ।
जेनतेन गरेर दुइ पटक अप्रेसन गरे पनि अब उपचारका लागि आर्थिक अभाव भएको उनले बताए । आर्थिक अभावका कारण आफु पिडा सहेर बस्नु परेको क्यान्सर पिडीत भट्टको दुखेसो छ । हिँड्दा दुख्ने गरेकाले सारै समस्या हुने गरेको उनको भनाई छ ।
उनले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।




