Sagun Khabar
बैतडीका थप तीन पालिकाले गर्यो भूमी आयोगसंग सम्झौता 

बैतडी –बैतडीका तीनओटा स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका छन् । मंगलबार जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाले सम्झौता गरेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए । 

मंगलबार थप तीन पालिकाले भूमी आयोगसंग सम्झौता गरेसंगै बैतडीमा भूमी आयोगसंग सम्झौता गर्ने पालिकाको संख्या सात पुगेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाले यसअघि नै सम्झौता गरिसकेको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाले मात्रै आयोगसंग सम्झौता गर्न बाँकी रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए । 

अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको तथ्यांक संकलनका लागि पालिकाहरुले आयोगसंग सम्झौता गरेका हुन् । पालिकाहरुले आयोगसंग सम्झौता गरेसंगै अब काम अघि बढ्ने अध्यक्ष ऐरले बताए । उनले भने ‘हामीले अब तथ्यांक संकलनको काम शुरु गर्छौं । तथ्यांक आएपछि अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको व्यवस्थापनका लागि आवश्यक पहल हुन्छ ।’
 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update