Sagun Khabar
पाटनले चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्ने तयारी गर्यो 

बैतडी –संघीयता आएपछि पनि असारे विकासको प्रवृति मौलाएको भन्दै चर्को आलोचना भइरहेका बेला बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षका योजना समयमै कार्यान्वयन गर्ने तयारी गरेको छ । 

नगरपालिकाले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका योजनाहरु समयमै कार्यान्वयनमा लैजाने गरेर तयारी भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । नगरपालिकाले भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न सबै वडा कार्यालयहरुलाई निर्देशन दिइसकेको उनले बताए । उनले भने ‘काममा हुने ढिलासुस्ती रोक्नका लागि हामीले समयमै योजना कार्यान्वयनमा लैजाने तयारी गरिरहेका छौं । यसका लागि भदौ मसान्तभित्र समिति गठन गरिसक्न निर्देशन दिएका छौं ।’

भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरेर असोज महिनादेखि काम शुरु हुने उपप्रमुख बोहराले बताए । नगरपालिकाले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका योजनाहरु समयमै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने ‘असारमा मात्रै योजना सम्पन्न गर्ने परिपाटीको हामीले अन्त्य गर्न खोजेका छौं । यसमा सबैले सहयोग गर्नुपर्छ ।’

स्थानीय तहहरुले पनि असारमै योजना कार्यान्वयन गर्ने प्रवृति ल्याएको भन्दै व्यापक आलोचना भइरहेकाले पाटन नगरपालिकाले गरेको शुरुवात निकै राम्रो भएको प्रतिक्रिया आएको छ । नगरपालिकाले समयमै योजना कार्यान्वयन गरेर योजना पारदर्शीता र दिगोपना ल्याउनका लागि पहल गर्नुपर्ने स्थानीय अम्बादत्त पन्तले बताए । 

नगरपालिकाले योजनाहरुलाई समयमै सम्पन्न गर्ने र त्यसको अनुगमनलाई प्रभावकारी बनाउने तयारी भइरहेको उपप्रमुख बोहराले बताए । उनले भने ‘समयमै हामीले काम सक्यौं भने अनुगमन गर्न पनि सजिलो हुन्छ । असारे विकासको प्रवृतिलाई हामीले रोक्न खोजेका छौं ।’
 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update