Sagun Khabar
बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा फस्यो 
तस्बिर : पासोमा फसेको चितुवा

बैतडी –बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको उनले बताए । 

किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको जानकारी आएको उनले बताए । चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदै गरेको कँडेलले बताए । उद्धार टोली आज साँझ सम्म आइपुग्ने बताइएको छ । 

टोली आउँदा सम्म चितुवालाई बचाउनका लागि फसेको ठाउँमा भीडभाड नगर्न भनिएको कँडेलले बताए । चितुवाले पासोबाट फुत्किनका लागि प्रयास गर्ने र मानिसहरुको भीड भएमा झन् आक्रामक हुने भएकाले भीडभाड नगर्न आग्रह गरिएको हो । 

उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए । उनले भने ‘बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य उद्धार टोली अन्यत्र गएको रहेछ । अहिले बर्दिया र शुक्लाफाँटाबाट टोली आउँदैछ । त्यसपछि चितुवाको उद्धार हुन्छ ।’

बैतडीमा पछिल्लो समय मानव र चितुवाबीचको द्वन्द बढ्दै गएको छ । २०७४ सालयता बैतडीमा ११ चितुवा मारिएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update