बैतडी- बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा फसेको चितुवा मरेको छ । बुधबार बिहान जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा दिउंसो मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उद्धार गरि खोर भित्र राखेपछि चितुवा मरेको हो । किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको ढाडमा पासो परेको थियो । पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो । उद्धार टोली घट्नास्थल नपुग्दै चितुवा मरेको छ ।
घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ । बैतडीमा पछिल्लो समय मानव र चितुवाबीचको द्वन्द बढ्दै गएको छ । २०७४ सालयता बैतडीमा १२चितुवा मारिएका छन् ।




