Sagun Khabar
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने कार्य प्राथमिकतामा : डिएसपी शाही 

बैतडी –जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने कार्य प्राथमिकतामा रहेको बताएका छन् । भर्खर सरुवा भएर प्रहरी प्रमुखको रुपमा आएका शाहीले बुधबार पत्रकारहरुसंगको अन्तरक्रियामा यस्तो कुरा बताएका हुन् । 

जिल्लाको वस्तुस्थिती बुझ्ने कार्य भइरहेको बताउँदै जिल्लामा अपराध नियन्त्रणका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । यस्तै जिल्ला सदरमुकाम आसपासमा लागूऔषधका प्रयोगकर्ता भएको सूचना प्राप्त भएकाले लागू औषध नियन्त्रणमा पनि आफ्नो ध्यान केन्द्रित हुने उनले बताए । उनले भने ‘लागू औषध नियन्त्रणमा यो भन्दा पहिला पनि मैले काम गरिसकेको छु । यतापनि लागू औषधका प्रयोगकर्ता बढेको सूचना आएको छ । यसको नियन्त्रणका लागि तत्काल कार्ययोजना बनाएर अघि बढ्छु ।’

लागू औषध प्रयोगकर्ताका कारण समाज विभिन्न खालका अपराधहरु हुन सक्ने भएकाले लागू औषध नियन्त्रणमा प्रहरीले ध्यान दिने उनले बताए । लागू औषध प्रयोगकर्ता र विक्रेताहरुलाई कानुनको दायरमा ल्याइने प्रहरी नायब उपरीक्षक शाहीले बताए । 

यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई जिल्लामा शान्तपूर्ण र भयरहित रुपमा सम्पन्न गर्नका लागि प्रहरीले बिशेष ध्यान दिने उनले बताए । 

जिल्लामा छोटो दुरीका सवारी चालकहरुले मनोमानी भाडा लिइरहेको भन्दै पत्रकारहरुले डिएसपी शाहीको ध्यानाकर्षण गराएका थिए । मनोमानी भाडा नियन्त्रणका लागि यातायात व्यवसायी र अन्य सरोकारवालाहरुसंग बसेर समस्या समाधान गरिने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update