बैतडी –बैतडीमा बुधबार पासोमा फसेर मरेको चितुवा गर्भवती रहेको खुलेको छ । दशरथचन्द नगरपालिका ४ बिनासौंमा बँदेलका लागि थापेको पासोमा परेर मरेको चितुवाको पेटमा दुई बच्चा रहेको पाइएको हो ।
उद्धार गरेर फलामको खोरमा राखेपछि चितुवा मरेको र पोष्टमार्टम गर्दा चितुवाको पेटमा दुईओटा बच्चा भेटिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख श्यामसुन्दर माझीले बताए ।
चितुवा मरेपछि पोष्टमार्टम गरेर खाल्डोमा गाडिएको उनले बताए । चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउने भनेपनि टोली नपुग्दै चितुवा मरेको निमित्त प्रमुख माझीले बताए ।
बैतडीमा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरुले पासो थाप्दै आएका छन् । किसानहरुले थापेको पासोमा परेर चितुवा मरेको हो । चितुवा पासोमा परेको बुधबार बिहान थाहा पाएपछि डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धारका लागि प्रयास गरेको थियो । लामो समयको प्रयासपछि चितुवालाई खोरमा राख्न सफल भएपनि चितुवा बचाउन नसकिएको माझीले बताए । उनले भने ‘पासोले चितुवाको ढाडमा चोट पुगेको थियो । त्यसैमा गर्भवती पनि रहेछ । त्यसकारण चितुवा मरेको हो ।’
बैतडीमा २०७४ साल यता १२ चितुवा मारिएका छन् भने २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा मानव र चितुवाबीच द्वन्द बढ्दै गएको छ ।




