Sagun Khabar
बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीको आग्रह  

बैतडी –बैतडीमा यही भदौ ५ गतेदेखि शुरु हुने बालबालिका लक्षित खोप अभियानमा सहभागी हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने तयारी भएकाले आफ्ना बालबालिकाहरुलाई नजिकका खोप केन्द्रमा लगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

कोरोना भाइरसको जोखिम कायमै रहेको र यसबाट जोगाउन खोप प्रभावकारी माध्यम भएकाले बालबालिकाहरुलाई निर्धक्कसंग खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले बताए । 

जिल्लामा ५ बर्षदेखि ११ बर्ष सम्मका ३८ हजार ५ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य सहित तयारी भएको उनले बताए । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइसकिएको छ । 

५ बर्षदेखि ११ बर्षसम्मका अधिकांश बालबालिकाहरु विद्यालयमा हुने भएकाले विद्यालयमा नै खोप केन्द्र राखिएको सूचना अधिकारी लेखकले बताए । ५ सय ६२ ओटा खोप केन्द्र मार्फत खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानका लागि ५ सय ६८ खोप कार्यकर्ता र १ हजार १ सय ३६ स्वयंसेवक परिचालन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लाका १० ओटा स्थानीय तह मध्ये दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा भदौ ५ देखि ९ गते सम्म खोप अभियान सञ्चालन हुनेछ भने अन्य पालिकाहरुमा भदौ ५ गतेदेखि ८ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । 

जिल्लामा अहिले सम्म १२ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्ध खोप दिइएको थियो भने पहिलो पटक ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने तयारी भएको हो । बैतडीमा १२ बर्षमाथिका १ लाख ८० हजार जनाले कोरोना विरुद्ध पूर्ण खोप पाइसकेका छन् । 

कोरोना विरुद्धको खोप लगाएकाहरुमा कोरोना संक्रमण भएपनि जटीलता नदेखिएकाले कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिँदै आएका छन् । खोप लगाएका मानिसमा कोरोनाको समयमा जटीलता कम देखिने गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । बालबालिकाहरुका लागि फाइजर खोप सुरक्षित भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update