बैतडी –स्थानीय तहहरुले समयमै योजना सम्पन्न नगर्ने गरेको गुनासो बढीरहेका बेला जिल्लाको दशरथचन्द नगरपालिकाले कार्ययोजना बनाएको छ । चालु आर्थिक बर्षका योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि नगरपालिकाले कार्ययोजना बनाएको नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए ।
नगरपालिकाले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका योजनाहरुको कार्यान्वयनका लागि कार्ययोजना बनाइएको नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए । नगरपालिकाले उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने योजनाका लागि असोज पहिलो साताभित्र उपभोक्ता समिति गठन गरिसक्ने कार्ययोजना बनाएको उनले बताए । उनले भने ‘असोज पहिलो साताभित्र उपभोक्ता समिति गठन गर्नका लागि वडा कार्यालयहरुलाई आग्रह गरिसकेका छौं । नगरपालिकाले पारित गरेको कार्ययोजना अनुसार काम अघि बढ्छ ।’
यस्तै असोज मसान्तभित्र योजनाहरुको सम्झौता गरिसक्ने कार्ययोजनामा उल्लेख गरिएको छ । उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरु चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरेर कार्ययोजना बनाइएको इन्जिनियर बोहराले बताए । उनले भने ‘हामीले पालिकाबाट सञ्चालन गर्ने योजनाहरु चैत मसान्तभित्र सम्पन्न गर्ने गरेर कार्ययोजना बनाएका छौं । सोही कार्ययोजना अनुसार काम हुन्छ ।’
यस्तै ठेक्का मार्फत सञ्चालन हुने योजनाहरु वैशाखभित्र सम्पन्न गरिसक्ने कार्ययोजनामा उल्लेख गरिएको छ । चैतदेखि वैशाखभित्र योजनाहरु सम्पन्न गरेर त्यसपछि अन्य कार्यहरु गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
स्थानीय तहहरुले असारे विकासको प्रवृतिलाई प्रश्रय दिएको आरोप लागेका बेला कार्ययोजना अनुसार काम गर्ने दशरथचन्द नगरपालिकाले जनाएको छ । नगरपालिकाले बनाएको कार्ययोजना पूर्ण रुपमा लागू गर्ने नगर प्रमुख जोशीले बताए । उनले भने ‘हामीले तोकेको समयभित्र योजनाहरु सम्पन्न गर्छौं । योजनाहरुलाई गुणस्तरीय र पारदर्शी रुपमा सम्पन्न गर्नेछौं ।’





