Sagun Khabar
महाकालीमा बगेका किशोरी एक हप्ता बितिसक्दा समेत फेला परेनन्, खोजी कार्य जारी 

बैतडी –महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरी अझै फेला परेका छैनन् । महाकाली बगेर बेपत्ता भएको एक हप्ता बितिसक्दा समेत किशोरीहरु फेला नपरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । 

गएको शुक्रबार दिउँसो नुहाउने क्रममा महाकालीमा बगेर बेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका ८ साङडीकी कविता टमाटा र संगिता टमाटाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । महाकाली नदी किनार मौरा भन्ने स्थानबाट बगेर बेपत्ता भएका उनीहरुको दैनिक खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अहिले पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य जारी राखेका निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । उनले भने ‘हामीले अझै पनि आस मारेका छैनौं । उनीहरुको शव फेला पर्ला भनेर खोजीरहेका छौं ।’

बेपत्ता किशोरीहरुको खोजीका लागि सीमावर्ती भारतीय सुरक्षाकर्मी, नेपालको डडेल्धुरा र कञ्चनपुरमा समेत खबर गरिएको बताइएको छ । अझै एक हप्ता खोजी कार्य जारी राख्ने निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।

महाकाली धमिलो भएका कारण खोजी कार्यमा समस्या रहेको बताइएको छ । बर्षाका कारण महाकालीमा पानीको बहाव पनि बढेको छ भने किनारमा बाटो समेत नहुँदा खोजी कार्यमा समस्या भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update