बैतडी –राष्ट्रिय भूमी आयोगले बैतडी सहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका भूमीहिनहरुलाई आवेदन दिन आग्रह गरेको छ । भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि गठन भएको राष्ट्रिय भूमी आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ ।
बैतडीका ६ ओटा पालिका सहित सुदूरपश्चिमका ३८ स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवेदन दिन आग्रह गरिएको हो ।
बैतडीका मेलौली नगरपालिका, पाटन नगरपालिका,पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका,सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा रहेका भूमीहिन दलित,भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए ।
पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको ऐरले बताए । राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका पालिकाहरुभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरिएको अध्यक्ष ऐरले बताए ।
जिल्लाका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आयोगको जिल्ला समितिले आफ्नो तर्फबाट पहल गरिरहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताए । उनले भने ‘राष्ट्रिय भूमी आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकाहरुलाई पत्र पठाएका छौं । यकिन तथ्यांक संकलन गरेर समस्यामा परेका नागरिकहरुको समस्या समाधानका लागि पहल गर्छौं ।’
जमीन नभएकाहरुलाई जमीनको व्यवस्थापन गर्ने उद्देश्यले लगत संकलक मार्फत आवदेन संकलन गरिने बताइएको छ । आयोगले देशका विभिन्न पालिकामा रहेको भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ ।




