बैतडी –विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला प्रशासन कार्यालय बैतडीलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न तीन बुँदे माग सहित चारओटा पार्टीले गरेका निर्णयको बारेमा जानकारी गराउन ज्ञापन बुझाएको नेकपाका जिल्ला सचिव रामसिंह कुँवरले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीलाई ज्ञापन पत्र बुझाइएको उनले बताए । चार पार्टीले जारी गरेको प्रेस वक्तव्यमा सरकारसंग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरिएको छ । यस्तै महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग अघि सारिएको छ ।
विप्लव माओवादी सहितका चार पार्टीले विभिन्न संघर्षका कार्यक्रम समेत अघि सारेका छन् । संघर्षका कार्यक्रम अनुसार भदौ ७ गते नेपाल बन्द गर्ने घोषणा समेत गरिएको छ । विगतमा भएका सहमति कार्यान्वयन गर्न आफूहरुले दबाब दिएको जिल्ला सचिव कुँवरले बताए ।




