Sagun Khabar
बैतडीमा १६ जना कैदीबन्दीमा कोरोना पुष्टि 

बैतडी –बैतडीमा पछिल्लो समयमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ । जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको कारागारका जेलर धारा भण्डारीले बताइन् । 
केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि बुधबार पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो । आज उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टीजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् । 

कोरोना संक्रमण देखिएका १६ जना कैदीबन्दीलाई अलगै कोठामा राखिएका जेलर भण्डारीले बताइन् । कारागार भित्र ठाउँको अभावमा व्यवस्थापन गर्न निकै समस्या रहेको छ । 

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन् । कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने भएपनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रही आएको जेलर भण्डारीले बताइन् । 

२५ जनाको क्षमता भएको कारागारमा ९३ जनाको बसोबासको व्यवस्थापन गर्न निकै गाह्रो भएको उनले सुनाइन् । १६ जना कैदीबन्दीमा कोरोना पुष्टि भएसंगै बसोबास र खानपीनका लागि समेत समस्या भएको तर जेनतेन व्यवस्था गरिएको उनले बताइन् । उनले भनिन् ‘हामीले कारागार भित्रका कैदीबन्दीहरुका लागि जेनतेन बस्ने व्यवस्था मिलाएका थियौं । १६ जनामा कोरोना पुष्टि भएपछि अहिले उनीहरुलाई अलगै कोठामा राखेका छौं ।’

जिल्लामा समुदायस्तरसम्मै कोरोना फैलिसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना संक्रमणको जोखिम बढ्दै गएका स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update