Sagun Khabar
बैतडीमा प्रहरीले शुरु गर्यो गाँजा फडानी अभियान 

बैतडी –बैतडीमा प्रहरीले गाँजा फडानी अभियान शुरु गरेको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा प्रेमबहादुर शाही आएसंगै उनकै निर्देशनमा जिल्लाभरी गाँजा फडानी अभियान शुरु भएको हो । 

विभिन्न ठाउँमा आँफै उम्रेको र कुनै ठाउँमा स्थानीयहरुले लगाएको गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

गाँजा लागूऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान शुरु गरिएको उनले बताए । उनले भने ‘हामीले मातहतका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइसकेका छौं । गाँजाका बोटहरु नष्ट गर्ने अभियान जिल्लाभरी सञ्चालन भइरहेको छ ।’

जिल्लाको सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा आँफै उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरु समेतको सहभागितामा गाँजा फडानी अभियान शुरु भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update