Sagun Khabar
बैतडीको दशरथचन्दमा विपद् पूर्वसूचना प्रणाली किन थन्कियो गोदाममा ?

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको बाढी पहिरोसम्बन्धी जानकारी दिने विपद् पूर्व सूचना प्रणाली गोदाममा थन्किएको छ । नगरपालिकाको हाताभित्र जडान गरिएको विपद् सूचना प्रणाली काम नगरेपछि गोदाममा राखिएको हो । 

बर्षाको मापन गर्ने र त्यसको आधारमा बाढी र पहिरोको जोखिमका बिषयमा जानकारी दिने सूचना प्रणालीले काम नगरेपछि निकालिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । करीब ३ बर्ष अघि युनिसेफ नेपालको सहयोगमा हिमालय कन्जरभेसनले नगरपालिकामा विपद् चट्याङ र बाढी पहिरोको विपद् पूर्व सूचना प्रणाली जडान गरेको थियो । 

चट्याङ सम्बन्धि पूर्व सूचना प्रणालीले काम गरिरहेको भएपनि बाढी र पहिरो सम्बन्धि विपद् सूचना प्रणाली काम नगरेकाले त्यसलाई निकालिएको हो । बढी बर्षा भएमा पूर्व सूचना प्रणालीमा साइरन बज्ने भएपनि साइरन बज्न छोडेका कारण त्यसलाई निकालिएको बताइएको छ । 

नगरपालिकाको महाकाली नदीसंग सीमा जोडिएका वडा नं ६ र १० मा बाढीको जोखिम भएपनि त्यता भने सूचना प्रणाली जडान हुन सकेको छैन् । केही समय पहिला ट्रोसा परियोजना अन्तर्गत रुडेस बैतडीले स्थानीयस्तरमै समूह गठन गरेर एसएमएस पठाउने गरेको थियो । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये ८ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । तर सबै स्थानीय तहमा पूर्व सूचना प्रणालीको अभाव रहेको छ । पहिरोका कारण धनजनको क्षति हुने गरेको भएपनि त्यसको रोकथामका लागि खासै पहल भएको देखिदैन् । 

स्थानीय तहहरुले डोजरको प्रयोग गरेर जथाभावी सडक खनेका कारण जिल्लाभरी पहिरोको जोखिम रहेको छ । बर्षातको समयमा हरेक बर्ष पहिरोले समस्या निम्त्याउने गरेको स्थानीयबासीहरुले बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update