Sagun Khabar
श्रीकृष्ण जन्माष्टमीको अवसरमा बैतडीका कृष्ण मन्दिरहरुमा सामूहिक भजन किर्तन 

बैतडी – श्रीकृष्ण जन्माष्टमीको अवसरमा बैतडीका कृष्ण मन्दिरहरुमा सामूहिक भजन किर्तनको आयोजना गरिएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ८ खोड्पेस्थित कृष्ण मन्दिरमा सामूहिक भजन किर्तन गरिएको पाटनका स्थानीय समेत रहेका जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । उक्त मन्दिरमा खोड्पे र आसपासका क्षेत्रबाट दर्शनार्थीहरु पुगेका थिए । 

यस्तै पाटनमा रहेको कृष्ण मन्दिरमा भजनकिर्तन सहित सामूहिक पूजा अर्चना गरिएको छ । जन्माष्टमीको अवसर पारेर विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा भक्तजनहरुले पूजा अर्चना गरेका छन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । 

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update