बैतडी –जिल्ला कारागार बैतडीमा क्षमता भन्दा झण्डै चारगुणा कैदीबन्दी हुँदा बन्दीहरुलाई समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले ९३ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर धारा भण्डारीले जानकारी दिइन् ।
कैदीबन्दीहरुलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताइन् । उनले भनिन् ‘कैदी बन्दीहरुलाई बसोबासकै समस्या रहेको छ । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा हामीलाई व्यवस्थापनमा निकै समस्या भएको छ ।’
कारागार परिसरमा दुईओटा टेन्ट राखिएका छन् भने कोठाहरुमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको भण्डारीले बताइन् । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा निकै व्यवस्थापनमा निकै समस्या भएको उनले बताइन् ।
पुरानो भवन पनि जीर्ण भईसकेकाले कैदी बन्दीहरुलाई बसोबासका लागि निकै समस्या भएको छ । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता रही आएको छ । २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन् । त्यसमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा झन् समस्या भएको बताइएको छ ।
कारागारमा रहेका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण भएपछि अहिले बसोबासको व्यवस्थापनमा झन् समस्या भएको छ । पहिला नै बसोबासको समस्या झेलीरहेका कैदीबन्दीहरुमा कोरोना पुष्टि भएपछि अहिले झन् समस्या भएको छ । संक्रमितहरुलाई एक कोठामा राखिएको र उनीहरुका लागि अलगै शौचालयको व्यवस्था मिलाइएको भण्डारीले बताइन् ।




