बैतडी-बैतडीको सुर्नया ३ ले भत्ता वितरण सहजिकरणका लागि गरेको निर्णय कार्यान्वयन नगरेको पाइएको छ । जनप्रतिनिधिहरुले जेठ २४ गतेको पहिलो बैठकमा समाजिक सुरक्षा भत्ता टोल टोलमा गएर वितरण गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नगरेको पाइएको हो ।
अहिले टाढाको बाटो गएर भत्ता बुझनु परेको र वडाले सहजिकरण नगरेको नागरिकहरुले बताएका छन् । आफुहरुले भत्ता बुझ्न एक डेढ घण्टा हिँड्नु परेको वडाको विजुल टोलका स्थानीय डम्बर बहादुर चन्दले बताए ।
जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाले पाउँदै आएको समाजिक सुरक्षा भत्ता टोलटोलमै गएर वितरण गर्ने निर्णय गरेपनि वडाले अहिले कार्यान्वयन नगरेको स्थानीय शिव राज भटले बताए । टोेल टोलमा समाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गर्ने कार्यान्वयन नगर्ने भन्दै अहिले जनप्रतिनिधिहरुको आलोचना पनि भइरहेको छ ।
यता वडा अध्यक्ष सम्भु प्रशाद भट्टले भने टोल टोलमा गएर भत्ता वितरण गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न नसकीएको स्वीकार गरेका छन् । विभिन्न प्राविधिक कारणले टोल टोलमा जान नसकिएको र आगामि दिनमा टोलमै गएर भत्ता वितरण गरिने उनले बताए ।
वडाका कतिपय टोलहरु बैँक र वडाको पहुँच भन्दा टाढा रहेकाले भत्ता वितरणमा सहजिकरण हुनु पर्ने स्थानीय नागरिकहरुको माग छ ।




