बैतडी –बैतडीमा बजार अनुगमन कार्य जारी रहेको छ । चाडपर्वलाई लक्षित गरेर श्रावण अन्तिम सातादेखि बजार अनुगमन कार्य शुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
संयुक्त बजार अनुगमन समितिले शुक्रबार जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीन अधिकारीले बताए । जिल्लाको मोतीनगर, बाचपानी, ढोल्यामोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको अधिकारीले बताए ।
बजार अनुगमनका क्रममा २९ हजार ९ सय ८० रुपैंया बराबरको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदले जानकारी दिए । बजार अनुगमनका क्रममा बिस्कुट लगायतका म्याद नाघेका सामग्री बरामद गरेर नष्ट गरिएको उनले बताए ।
अनुगमनका क्रममा मूल्य सूची नराखेका, अखाद्य सामग्री विक्रि वितरण गरेका, लेबल नभएका सामग्री विक्रि वितरण गरेका ६ जना व्यापारीबाट ५० हजार जरीवाना असुल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए । उनले भने ‘हामीले बजार अनुगमनका क्रममा सुझाव पनि दिँदै आएको छ । दोश्रो पटक अनुगमन गर्दा सुझाव नमानेका व्यापारीहरुलाई जरीवाना गरेका छौं ।’
अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउने, उपभोक्ताहरुलाई सचेत बनाउने, महंगी र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ बजार अनुगमन गर्ने गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।
बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री विक्रि वितरण नगर्न निर्देशन दिइएको प्रशासनका सूचना अधिकारी भारतीले बताए ।
यस्तै उपभोक्ता र व्यापारी दुवैलाई उपभोग्य सामग्रीको उत्पादन र उपभोग मिति हेरेर मात्रै खरीद विक्रि गर्न आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसअघि गएको साउन अन्तिम साता गरिएको बजारमा अनुगमनका क्रममा २३ हजार बराबरको अखाद्य सामग्री नष्ट गरिएको थियो भने ८ जना व्यापारीबाट ६५ हजार जरीवाना असुल गरिएको थियो ।




