बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा पानीको अभाव भएको छ । स्वास्थ्यचौकीमा पानी नहुँदा खोलाबाट बोकरे ल्याउनुपर्ने बाध्यता रही आएको छ ।
स्वास्थ्यचौकी भएर सल्ला गाउँमा खानेपानीको लाइन जान्छ तर स्थानीयहरुले स्वास्थ्यचौकीमा पानी नदिँदा समस्या भएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । उनले भने ‘हाम्रो स्वास्थ्यचौकी भएर पानीको लाइन गएको छ । तर स्थानीयहरुले पानी दिन नमान्दा हामीलाई समस्या भएको छ ।’
स्वास्थ्यचौकीमा सेवा लिनका लागि सल्ला गाउँका स्थानीयहरु समेत पुग्ने गरेका छन् तर स्वास्थ्यचौकीमा पानी दिनका लागि उनीहरुले आनाकानी गर्ने गरेका छन् । स्वास्थ्यचौकीमा पानीको आपूर्तीका बिषयमा धेरै पटक स्थानीयहरुसंग छलफल गरेको भएपनि पानी दिन नमाने स्वास्थ्यचौकी इन्चार्ज सार्कीले बताए ।
पञ्चेश्वर स्वास्थ्यचौकीमा सुरक्षित प्रसुती सेवा पनि सञ्चालनमा रहेको छ । पानीको अभावमा प्रसुती सेवा प्रदान गर्न निकै गाह्रो भइरहेको स्वास्थ्यचौकी इन्चार्ज सार्कीले बताए । उनले भने ‘कुनै महिला स्वास्थ्य संस्थामा प्रसुती भएमा उनीहरुको सरसफाइ र अन्य सरसफाइका लागि पानी आवश्यक पर्दछ । तर पानीको अभावमा सो सेवा प्रदानमा निकै असहजता भएको छ ।’
पञ्चेश्वर स्वास्थ्यचौकीमा पानी पुर्याउनका लागि पञ्चेश्वर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष दिवानीराम सार्कीले पहल गरेपनि पहल सार्थक हुन सकेको छैन् । स्वास्थ्यचौकीमा पानी दिने बिषयमा स्थानीयहरु सहमत नभएका उनले बताए । उनले भने ‘स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाहरु आउँछन् । स्वास्थ्यचौकीमा पानी दियो भने पानीको मूहान सुक्छ भन्ने गलत धारणा व्याप्त रहेको छ ।’
पञ्चेश्वर स्वास्थ्यचौकीमा एक महिनामा ५ देखि ६ सय सम्म सेवाग्राही पुग्ने गरेका स्वास्थ्यचौकी इन्चार्ज सार्कीले बताए । यस्तै गएको महिना ९ जनाले सुरक्षित प्रसुती सेवा लिएका छन् ।
स्वास्थ्यचौकीमा पानीको अभावमा कर्मचारीहरु समेत बस्न मान्दैनन् । स्वास्थ्यसंस्थासंग पार्याप्त भौतिक संरचना भएपनि पानीको अभावमा टाढाका स्वास्थ्यकर्मीहरु बस्न नमान्ने गरेको इन्चार्ज सार्कीले बताए । उनले भने ‘पानीको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेको छ । यो बिषयमा सम्बन्धित निकायले पहल गरिदेओस ।’




