Sagun Khabar
बैतडीमा भोलिदेखि बालबालिकाहरुलाई कोरोना विरुद्ध खोप दिइने, तयारी पूरा 

बैतडी –बैतडीमा भोलि (आइतबार) देखि बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप दिइने भएको छ । ५ बर्षदेखि ११ बर्ष सम्मका ३८ हजार बालबालिकाहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बालबालिका लक्षित खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको उनले बताए । उनले भने ‘हामीले सबै पालिकाहरुमा खोप पुर्याइसकेका छौं । पालिकाहरुले खोप केन्द्रमा खोप पुर्याइरहेका छन् ।’

जिल्लाभरी ३८ हजार ५ जना बालबालिकाहरुलाई खोप दिने तयारी भएको छ । यसका लागि ५ सय ६८ खोप कार्यकर्ता र १ हजार १सय ३६ स्वयंसेवक परिचालन गरिएका स्वास्थ्य प्रमुख भट्टले बताए । 

अधिकांश बालबालिकाहरुलाई विद्यालय हुने भएकाले विद्यालयहरुमा नै खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए । जिल्लाभरी ५ सय ६२ खोप केन्द्र मार्फत बालबालिकाहरुलाई कोरोना विरुद्ध खोप दिइने छ । 

जिल्लाका १० ओटा स्थानीय तह मध्ये दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा भदौ ५ देखि ९ गते सम्म खोप अभियान सञ्चालन हुनेछ भने अन्य पालिकाहरुमा भदौ ५ गतेदेखि ८ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । 

जिल्ला अहिले सम्म १२ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्ध खोप दिइएको थियो भने पहिलो पटक ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिन लागिएको हो । बैतडीमा १२ बर्षमाथिका १ लाख ७८ हजार ८ सय २० जनाले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् । यस्तै १ लाख ७७ हजार २ सय ९३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । 

भोलिदेखि गतेदेखि शुरु हुने खोप अभियानमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ६ हजार २ सय ७९ बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको छ । यस्तै दशरथचन्द नगरपालिकामा ४ हजार १४३, पाटन नगरपालिकामा ४ हजार १४१, मेलौली नगरपालिकामा ३ हजार १४ र दोगडाकेदार गाउँपालिकामा ४ हजार २८५ जना बालबालिकाहरुलाई खोप दिइने छ । 

यस्तै सिगास गाउँपालिकामा ३ हजार ९०६, डिलाशैनी गाउँपालिकामा ३ हजार ६३९, शिवनाथ गाउँपालिकामा ३ हजार २२०, सुर्नया गाउँपालिकामा २ हजार ९०७ र पञ्चेश्वर गाउँपालिकामा २ हजार ४७२ जना बालबालिकाहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि खोप प्रभावकारी माध्यम भएकाले आफ्ना बालबालिकाहरुलाई नजिकका खोपकेन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update