Sagun Khabar
कृष्ण मावि पाटनको ६२ औं बार्षिकोत्सव सम्पन्न 
mabi patan.jpg

बैतडी –बैतडीको पाटनस्थित कृष्ण मावि पाटनको ६२ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । 
समारोहमा विद्यालयका निमित्त प्रधानाध्यापक जनकराज भट्टले विद्यालयको भौतिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सव समारोहमा पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, जिल्ला समन्वय समितिका पूर्व प्रमुख सिद्धराज भट्ट, पाटन नगरपालिका पूर्व उपप्रमुख सरस्वती कोली लगायतको सहभागिता रहेको थियो । 

बार्षिकोत्सव समारोहमा बोल्दै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले कृष्ण माविलाई नमूना बनाउन पहल गर्ने बताए । यसमा विद्यार्थी, शिक्षक र अभिभावकले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘पाटनको मुटुमा रहेको कृष्ण माविलाई नमूना बनाउने अभियानमा सबैले सहयोग गर्नुपर्छ । यो क्षेत्रका अभिभावकहरुलाई हामी यो कार्यमा सहयोग गर्न आग्रह गर्दछौं ।’

यस्तै पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले वडाभित्र रहेको जेठो शैक्षिक संस्था कृष्ण माविलाई उत्कृष्ट शिक्षण संस्थाको रुपमा विकास गरिने बताए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएका थिए । पाटन क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको कृष्ण माविमा कक्षा ९ र १० प्राविधिक बिषय समेत पढाइ हुने गरेको छ । 

कक्षा १२ सम्मको पढाइ हुने कृष्ण माविमा पाटनमा पाटन र आसपासका क्षेत्रका विद्यार्थीहरु अध्ययनका लागि पुग्ने गर्दछन् । अहिले विद्यालयमा ६ सय बढी विद्यार्थी अध्ययनरत रहेका बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update