Sagun Khabar
बैतडीमा आजदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप दिइँदै 

बैतडी –बैतडीमा आजदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप दिइँदै छ । ५ बर्षदेखि ११ बर्ष सम्मका ३८ हजार बढी बालबालिकाहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

प्रत्येक पालिकाका विद्यालयहरुमा खोप केन्द्र तोकेर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका लागि ५ सय ६८ खोप कार्यकर्ता र १ हजार १सय ३६ स्वयंसेवक परिचालन गरिएका स्वास्थ्य प्रमुख भट्टले बताए । जिल्लाभरी ५ सय ६२ खोप केन्द्र मार्फत बालबालिकाहरुलाई कोरोना विरुद्ध खोप दिने कार्य शुरु गरिएको बताइएको छ ।  

जिल्लाका १० ओटा स्थानीय तह मध्ये दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा आजदेखि ९ गते सम्म खोप अभियान सञ्चालन हुनेछ भने अन्य पालिकाहरुमा भदौ ५ गतेदेखि ८ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । 

जिल्लामा अहिले सम्म १२ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्ध खोप दिइएको थियो भने पहिलो पटक ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिन शुरु गरिएको हो बैतडीमा १२ बर्षमाथिका १ लाख ७८ हजार ८ सय २० जनाले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् । यस्तै १ लाख ७७ हजार २ सय ९३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । 

आजदेखि शुरु भएको खोप अभियानमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ६ हजार २ सय ७९ बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको छ । यस्तै दशरथचन्द नगरपालिकामा ४ हजार १४३, पाटन नगरपालिकामा ४ हजार १४१, मेलौली नगरपालिकामा ३ हजार १४ र दोगडाकेदार गाउँपालिकामा ४ हजार २८५ जना बालबालिकाहरुलाई खोप दिइने छ । 

यस्तै सिगास गाउँपालिकामा ३ हजार ९०६, डिलाशैनी गाउँपालिकामा ३ हजार ६३९, शिवनाथ गाउँपालिकामा ३ हजार २२०, सुर्नया गाउँपालिकामा २ हजार ९०७ र पञ्चेश्वर गाउँपालिकामा २ हजार ४७२ जना बालबालिकाहरुलाई खोप दिने कार्य शुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले खोप केन्द्रमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । खोप केन्द्रमा जाँदा मास्क लगाएर जान आग्रह गरिएको छ भने भौतिक दुरी पनि कायम गर्न भनिएको छ । 

कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि खोप प्रभावकारी माध्यम भएकाले आफ्ना बालबालिकाहरुलाई नजिकका खोपकेन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । फाइजर खोप पूर्ण रुपमा सुरक्षित भएकाले निर्धक्कसंग लगाउन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update