Sagun Khabar
गौरामा गाइने ठाडोखेल, ढुस्को र धुमारी हराउँदै 

बैतडी –सुदूरपश्चिममा गौरा पर्व नजिक आएसंगै यसको रौनक पनि बढ्न थालेको छ । गौरा पर्व भन्ने बित्तिकै नयाँ लुगा लगाउने, मिठा परिकार खाने, आफन्तहरुसंग भेटघाट हुने पर्वको रुपमा लिइन्छ । 

सुदूरपश्चिममा दशैंभन्दा बढी महत्वका साथ मनाइने गौराको मौलिकता भने हराउन थालेको छ । गौराको समयमा गाइने ऐतिहासिक महत्वका ठाडो खेल, ढुस्को र धुमारी हराउन लागेका स्थानीयहरुले बताएका छन् । 

गौरा शुरु हुनुभन्दा एक महिना पहिला नै गाउँगाउँमा रातिको समयमा विभिन्न ऐतिहासिक गाथा बोकेका खेलहरु खेल्ने चलन रहेको थियो । तर पछिल्लो समयमा गौराका बेला गाइने यी खेलहरु लोप हुन लागेका बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका गणेशबहादुर बोहराले बताए । उनले भने ‘गौरा पर्वको आकर्षण भनेकै ठाडो खेल,ढुस्को, धुमारी हुन् । तर यस्ता सांस्कृतिक खेलहरु पछिल्लो समयमा लोप हुँदै गएका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

ठाडो खेल, ढुस्को, धुमारीमा विभिन्न देवीदेवताको गाथा, पुराना इतिहास भएपनि पछिल्लो समयमा लोप हुँदै गएको देहीमाण्डौंकै अर्का स्थानीय गगनसिंह भण्डारीले बताए । अलिखित रुपमा रहेका यस्ता सांस्कृतिक खेलहरु खेल्न पहिला निकै रमाइलो हुने गरेको भएपनि पछिल्लो समयमा लोप हुन लागेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने ‘अहिले र पहिलाको गौरा तुलना गर्दा धेरै फरक भएको छ । पहिले ढोल्ङाको तालमा एक महिनाभरी खेल खेलिन्थ्यो । गाउँघरमा रमाइलो हुन्थ्यो । तर पछिल्लो समयमा यस्ता खेलहरु लोप हुँदै गएका छन् ।’

गौराको समयमा खेलिने खेलहरुमा पैतला मिलाएर विभिन्न लयमा गाएर खेल्ने चलन रही आएको छ । तर यो चलन लोप हुँदै गएको सुर्नयाका स्थानीय मदनसिंह बिष्टले बताए । उनले भने ‘गौरामा शिवपार्वतीको पूजाआजा हुने भएकाले पुरुषहरुले खेल्ने खेलमा पनि देवीदेवताकै आराधनाका शब्दहरु भन्ने गरिन्थ्यो । तर नयाँ पुस्ताको यो प्रतिको चासो घट्दै गएको छ ।’

स्थानीय भाषामै गाइने यस्ता खेलहरु सबैले जान्ने भएकाले पनि गाउँमा गौराका समयमा निकै रौनक हुने गरेको छ । तर यस्ता खेलहरुलाई पुस्तान्तरण गर्न निकै गाह्रो भएको सुर्नया स्थानीय गणेशदत्त अवस्थीले बताए । यो प्रति युवाहरुको चासो कम भएकाले यस्ता सांस्कृतिक खेलहरु लोप हुने चिन्ता रहेको उनले बताए । उनले भने ‘पहिला रातभरी खेल खेल्ने चलन रही आएको थियो । तर अहिले भने एकदुई घण्टामै सकाउने गरिएको छ ।’

गौराको समयमा गाइने भगवान रामचन्द्रको चैत, कृष्णलिला, शिवलिंगको चैत, अठौती मल्लको चैत, भागेश्वरको चैत प्रसिद्ध रहेका भएपनि पछिल्लो समयमा यस्ता चैतहरु लोप हुँदै गएका छन् । 

गौराको समयमा नयाँ लुगा लगाउने चलन रही आएको छ । आर्थिक अवस्था समान्य भएका घरपरिवारले बर्षको एक पटक नयाँ लुगा किन्ने गर्दथे । त्यो भनेको गौराको समयमा मात्रै हुने गर्दथ्यो । 

यस्तै कामका लागि घरबाहिर रहेकाहरु पनि गौराका लागि घर आउने गर्दथे । गौराको समयमा सबैसंग भेटघाट र भलाकुसारी हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रुपमा समेत लिने गरिएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update