Sagun Khabar
बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अभिभावक उत्साहित 

बैतडी –जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंका चन्द्रसिंह रावत खुसी हुँदै बिहान १० बजे निङ्गलाशैनी बोर्डिङ स्कुलमा पुगे । सोही बोर्डिङमा अध्ययनरत आफ्नो नातीलाई कोरोना विरुद्ध खोप दिइने भएपछि उनी खुसी हुँदै स्कुलमा पुगेका हुन् । आफ्नो नातीलाई खोप लगाएर फर्किदा रावत निकै खुसी देखिन्थे । उनले भने ‘मैले पनि कोरोना विरुद्धको खोप लगाएको थिए । अहिले नातीलाई पनि खोप लगाउन पाइयो । धेरै खुसी लागेको छ ।’

चन्द्रसिंह जस्तै दोगडाकेदार गाउँपालिकाकी कलावती बिष्ट पनि आफ्ना नानीलाई लगेर खोप केन्द्रमा पुगिन् । आफूले पहिला नै खोप लगाईसकेकी कलावतीले नानीलाई कोरोना विरुद्धको खोप लगाउन पाउँदा निकै खुसी लागेको सुनाइन् । उनले भनिन् ‘कोरोनाको जोखिम कायमै रहेको छ । यो अवस्थामा बालबालिकाहरुलाई खोप लगाउन पाउँदा निकै खुसी भएका छौं ।’

बैतडीमा आइतबारदेखि ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई कोरोना विरुद्ध खोप दिन शुरु गरिएको छ । बालबालिकाहरुलाई कोरोना संक्रमणबाट बचाउनका लागि खोप अभियान शुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लाका ३८ हजार बढी बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । 

यही भदौ ९ गते सम्म सञ्चालन हुने अभियानमा सहभागी भइ बालबालिकाहरुलाई खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । आफ्ना बालबालिकाहरुलाई खोप लगाउन अभिभावकहरु समेत उत्साहित रहेको पाइएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘बालबालिकाहरुलाई खोप लगाउने कार्यमा अभिभावक समेत सक्रिय भएका छन् । खोप केन्द्रमा आफ्ना नानीबाबुहरु लगेर खोप लगाएको पाइएको छ ।’

खोप अभियानको पहिलो दिन बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको पाइएको छ । जिल्ला खोप समन्वय समितिका तर्फबाट गरिएको अनुगमनका क्रममा बालबालिकाहरुले निर्धक्क रुपमा खोप लगाएको पाइएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

खोप केन्द्रमा आफ्ना बालबालिका ल्याएर पुग्ने अभिभावकहरुलाई कोरोना खोपको महत्वका बारेमा समेत जानकारी दिने गरिएको देहीमाण्डौं स्वास्थ्यचौकीका सिनियर अनमी हिरा बोहराले बताइन् । उनले भनिन् ‘हामीले खोपकेन्द्रमा पुगेका अभिभावकहरुलाई खोपको महत्वका बारेमा पनि जानकारी दिने गरेका छौं । खोप लगाएकाहरुमा कोरोना लागिहालेमा पनि जटीलता कम हुन्छ भन्ने कुराको जानकारी दिइरहेका छौं ।’

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको र यसबाट बच्नका लागि खोप प्रभावकारी माध्यम भएकाले आफूहरुले आफ्ना बालबालिकाहरुलाई खोप लगाएको दशरथचन्द नगरपालिका जानकी बोहराले बताइन् । उनले भनिन् ‘हामीले स्वास्थ्यकर्मीहरुबाट धेरै कुरा सुन्यौं । आफूले पनि खोप लगाएका छौं । बालबालिकाहरुलाई पनि खोप लगाउँदा निकै खुसी भएका छौं ।’

बैतडीका १० ओटा स्थानीय तहमा ५ सय ६२ खोप केन्द्रमार्फत खोप दिने कार्य जारी रहेको छ । खोप अभियानका लागि ५ सय ६८ खोप कार्यकर्ता र १ हजार १सय ३६ स्वयंसेवक खटिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update