Sagun Khabar
सेनाको परिवारका लागि बैतडीमा निःशुल्क सिलाइकटाई तालिम

बैतडी – सैनिक श्रीमती संघले बैतडीमा निःशुल्क रुपमा सिलाईकटाई तालिम सञ्चालन गरेको छ ।
भूपु तथा वहालवाला सेनाको परिवारलाई लक्षित गर्दै सिलाईकटाई लेवल १ तालिम सञ्चालन गरिएको हो । हनुमानध्वज गुल्ममा ३ महिनासम्म सञ्चालन हुने उक्त तालिमको एक औपचारिक कार्यक्रम गरि शुुभारम्भ गरिएको छ ।

सैनिक श्रीमती संघकी पश्चिम कमाण्ड सल्लाहकार अनिता जोशीले तालिमको सुभारम्भ गरेको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले जानकारी दिए ।

तालिममा नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका श्रीमतीहरु, सेनामा कार्यरत रहदा विभिन्न घटनामा परि ज्यान गुमाएका सैनिकका परिवार,एकल महिला एवं १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका सैनिकका अविवाहित छोरीहरु गरेर २९ जना सहभागी रहेका छन् ।

सेनामा कार्यरत रहँदा ज्यान गुमाएका सैनिकका परिवार,एकल महिला सैनिक परिवारलाई सीपमूलक ज्ञान दिएर रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सैनिक श्रीमती संघकी पश्चिम कमाण्ड सल्लाहकार अनिता जोशीले बताइन् । 

सीप र स्वरोजगारको उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमबाट प्राप्त अवसरलाई सदुपयोग गर्दै प्रशिक्षार्थीहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने उनले बताइन् ।

सैनिक श्रीमती संघले भूपु तथा वहालवाला सैनिकका आश्रित परिवारका लागि ब्युटिसियन,मन्टेश्वरी, अचार बनाउने, जनरल कुक,जुनियर कम्प्युटर, हार्डवेयर टेक्निसियनलगायतका निशुल्क तालिम पनि सञ्चालन गर्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update