बैतडी –बैतडीका दुई ठाउँमा बम जस्तै शंकास्पद वस्तु भेटिएको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ भने सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको जोशीले बताए ।
सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको सेनानी गोविन्द थापाले जानकारी दिए । बम हो कि अथवा अन्य वस्तु हो भन्ने बिषयमा डिस्पोज गरेपछि मात्रै थाहा हुने उनले बताए । क्याप्टेन नवराज फुँयालको नेतृत्वमा बम डिस्पोजल टोली खटिएको बताइएको छ ।
विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् । उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच नेकपाको बन्दका कारण बैतडीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण गन्त्वयमा पुग्नुपर्ने नागरिकहरुलाई समस्या भएको छ ।




