बैतडी –नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा पनि देखिएको छ । मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ ।
बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दकर्ताहरुले सवारी साधनमा क्षति पुर्याउन सक्ने डरले सवारी साधन सञ्चालनमा आउन नसकेका हुन् । बन्दका कारण बैतडीमा छोटो तथा लामोदुरीका सवारी साधन सञ्चालनमा नरहेका यातायात व्यवसायीले बताए ।
कैलाली र कञ्चनपुरमा अटोरिक्सा तथा मोटरसाइकल भने फ्याट्टफुट्ट चलिरहेका छन् । प्रदेशभरीका शिक्षणसंस्थाहरु पनि बन्दका कारण खुल्न सकेका छैनन् ।
यसैबीच बन्दकै बेला प्रदेशका विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला परेका छन् । बैतडीको सतबाँझमा दुई ठाउँमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गरेको छ । यस्तै कैलालीको अत्तरीयामा राखिएको शंकास्पद वस्तु पनि सेनाको टोलीले डिस्पोज गरेको छ ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो । यस्तै अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाले गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।




